वेस्ट इन्डिजका अलराउन्डर सुनिल नारायणले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
सुनिल नारायणले आफ्नो आधिकारिक इन्स्टाग्राम एकाउन्ट मार्फत सन्यासको घोषणा गरेका हुन् । यो घोषणा गर्दै उनले लेखेका छन्, ‘मलाई थाहा छ मैले वेस्ट इन्डिजका लागि चार वर्षअघि अन्तिम खेल खेलेको थिएँ तर आज म अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिँदैछु । मलाई सार्वजनिक रूपमा धेरै भन्न मन लाग्दैन तर व्यक्तिगत रूपमा म धेरै मानिसहरूलाई मेरो कृतज्ञता व्यक्त गर्न चाहन्छु। जसले मलाई सँधै सपोर्ट गर्यो र जसका कारण मैले वेस्ट इन्डिजबाट खेल्ने सपना पूरा गरें ।’
सुनिल नारायणको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास वेस्ट इन्डिज क्रिकेट टोलीका लागि ठूलो झट्का हो । उनी लामो समयदेखि क्यारेबियन टोलीमा नरहेको भए पनि फ्यानहरूले उनी अर्को वर्ष हुने टी–२० विश्वकप २०२४ मा टोलीमा समावेश हुने अपेक्षा गरेका थिए।
सुनिल नारायणले सन् २०११ मा वेस्ट इन्डिजबाट ओडीआईमा डेब्यु गरेका थिए । उनले टोलीका लागि ६ टेस्ट, ६५ एकदिवसीय र ५१ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। यस अवधिमा उनले टेष्टमा २१ विकेट, एकदिवसीयमा ९२ विकेट र टी–२० अन्तर्राष्ट्रियमा ५२ विकेट लिएका छन् । उनले वेस्ट इन्डिजलाई २०१२ को टी-२० विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए।














