नेपाली क्रिकेट टोलीकी ओपनर तथा विकेटकिपर ज्योती पाण्डेले राष्ट्रिय र घरेलु दुबै क्रिकेटबाट सन्यास लिएकी छन्। प्रधानमन्त्री कप महिला टि-२० राष्ट्रिय प्रतियोगिता फाइनलमा कोशी प्रदेशलाई हराउँदै उपाधि जितेसँगै उनले सन्यास लिएकी हुन्।
बुधबार भएको फाइनलमा ज्योतिले ओपनिङ गर्दै ३० बलमा ३ चौका प्रहार गर्दै २७ रन बनाइन्। उनले दोस्रो विकेटका लागि इन्दु बर्मासँग २८ रनको साझेदारी गरिन्। यस्तै फिल्डिङमा उनले एक स्टम्पिङ र एक रनआउट पनि गरिन्।
उनलाई उपाधि जितेपछि टियु क्रिकेट मैदानमा एपीएफको टोलीले गार्डअफ अनर पनि दिएको थियो। उनले नेपाल र घरेलु दुबैबाट सन्यास लिएको बताइन्। ज्योतिले नेपालबाट १७ महिला टि-२० आई खेल खेलेकी छिन्। जसमा उनले १२ इनिङ्समा ब्याटिङ गर्दै २५२ रन बनाएकी छन्।
विराटनगरकी ज्योतिले सन् २०११ देखि लगातार एपिएफबाट खेल्दै आएकी थिइन्। ज्योतिले सन् २०१६ मा थाईल्यान्डमा भएको एसिसी वुमन्स एसिया कपमा पाकिस्तानविरुद्ध सिनियर डेब्यू गरेकी थिइन्। अन्तिम खेल २०२३ जुनमा मलेसियाविरुद्ध खेलिन्।
‘यही प्रतियोगिता र फाइनल म्याचलाई नै अन्तिम मानेर खेलेको थिएँ। त्यसैले यो प्रतियोगिता मेरो लागि इमोनसल क्षण थियो’, ज्योतिले भनिन्, ‘यो म्याच पछि म खेल्दिन भन्ने थियो।’














