ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी भएको छ।
रोजगार अनुमति प्रणाली (इपिएस) लाई लिएर आन्दोलन गरिरहेकाहरूले रिङरोडमा शुक्रबार दिउँसो मन्त्री ज्वालाको गाडी आगो लगाएका हुन्।
भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका छन् ।
एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका ज्वाला मन्त्री क्वाटरबाट पार्टीको केन्द्रीय समिति बैठक जान हिँडेका थिए । बालकुमारी क्षेत्रमा प्रदर्शनकारीले रोके । गाडीमा उनीसँगै दुई जना निजी सुरक्षा अधिकृत थिए ।
प्रदर्शनकारीहरुले गाडीलाई घेरा हालेपछि उनीहरु गाडीबाट बाहिर निस्किएका थिए । मन्त्री र पीएसओ गाडीबाट निस्किएपछि प्रदर्शनकारीहरुले आगजनी गरे।














