गर्मी महिनामा छाला हल्का तैलीय हुनु तथा जाडोमा सुख्खा हुनु स्वाभाविक हो। सोहीअनुरूप छालाको स्याहार गर्न सके सुन्दरतामा अवश्य निखार आउँछ। जाडो महिनामा तुलनात्मक रूपले छालाको स्याहार गर्न अलि कठिन हुन्छ तर एकपटक छाला स्याहारको तालिका हात लाग्यो भने कम शृंगार वा शृंगारबिना नै सुन्दर देखिन सफल भइन्छ। यो तालिका सरल तथा प्रयोगात्मक हुनुका साथै अत्यन्त प्रभावकारी पनि छ।
बिहान
सोप फ्रि फेसवास वा एलोबेरा, मह आदिको फेसवासले अनुहार सफा गर्ने। त्यसपछि राम्रो स्किन टोनर एप्लाई गर्ने। स्किन टोनर लगाएपछि हाई मोइस्चरयुक्त मोइस्चराइजर लगाउने। सनब्लकमा भएको मोइस्चराइजर विन्टर सिजनमा छालालाई आवश्यकताअनुरूप पर्याप्त नहुने भएकाले छुट्टै मोइस्चराइजर प्रयोग गर्नुपर्छ। मोइस्चराइजर लगाएपछि माथिबाट सनब्लक प्रयोग गर्ने। त्यसमाथि लुज पाउडरको टच दिने। आफ्नो छालाभन्दा २ देखि ३ टोन माथिको लुज पाउडर छनोट गर्नुपर्छ। लुज पाउडरले म्याट लुक्स दिनुका साथै लामो समयसम्म फ्रेस देखाउन सहयोग गर्छ। ओठको स्याहारका लागि राम्रो ब्रान्डको लिप वाम लगाउनुका साथै मोइस्चराइजरयुक्त लिपिस्टिक लगाउनुपर्छ।
बेलुकी
दिनभरि छालामा टाँसिएका फोहोर तथा मेकअप आदि उतार्न एवं छालाको सफाइका लागि प्रत्येक रात राम्रो क्लिन्जरले छालाको क्लिन्जिङ गर्ने। क्लिन्जिङ गरिसकेपछि टोनर लगाउने र सुत्नुपूर्व अनिवार्य नाइट क्रिम प्रयोग गर्ने। छाला फुटेको छ भने ग्लिसरिन तथा कागतीको मिश्रण प्रयोग गरे छाला चाँडै रिकभर हुनुका साथै मुलायम पनि रहन्छ।
विन्टर बडी केयर
अल्कोहलयुक्त वा ड्राइ साबुनले नुहाउँदा सुख्खापनले शरीर चिलाउने, छाला तन्किएजस्तो असहज महसुस हुने भएकाले मोइस्चराइजरयुक्त साबुन वा सोप फ्रि बडी वासले शरीर सफा गर्नुपर्छ र शरीर पुछ्नेबित्तिकै मोइस्चराइजरयुक्त बडी लोसन पूरै शरीरमा लगाउनुपर्छ। हात–खुट्टा बढी सुख्खा हुने भएकाले बडी लोसनका साथै नरिसिङ क्रिम वा कोल्ड क्रिम प्रयोग गर्न सकिन्छ। हातखुट्टा चिसा हुँदा पनि सुख्खापन देखापर्ने भएकाले शरीरका साथै हातखुट्टालाई पनि न्यानो राख्नुपर्छ।
स्पेशल केयर
अनुहारको सुन्दरता कायम राख्न हरेक हप्ता विक्ली प्याक लगाउनुपर्छ। हरेक महिना ब्युटी एक्सपर्टसँग आफ्नो छालाको प्रकृति तथा उमेरअनुरूप नियमित फेसियल गराउनुपर्छ। फेसियलको प्रभावकारिता कायम राख्न पनि डेली केयर, विक्ली मेन्टेन तथा स्पेशल केयर आदि पनि उत्तिकै आवश्यक हुन्छन्।














