धुलिखेल – काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ विद्यार्थी आज दीक्षित भएका छन्। प्रधानमन्त्री तथा उक्त विश्वविद्यालयका कुलपति पुष्प कमल दाहाल ‘प्रचण्ड’ले २९ औं दीक्षान्त समारोहमा ती विद्यार्थीलाई दीक्षित भएको प्रमाणपत्र प्रदान गरे।
दीक्षित हुनेमा पीएचडी, डिएम र एमसिएचमा स्कुल अफ आर्ट्सका एक, शिक्षाका तीन, मेडिकल साइन्सेजका १२ र विज्ञान विषयका दुई जना गरी १८ जना रहेका छन्।
त्यस्तै एमफिल तहका ३८, स्नातकोत्तर तहका ३१४, पिजिडी तहका ५२ र स्नातक तहका १ हजार ४१६ जनासहित १ हजार ८३८ विद्यार्थी २९ औँ दीक्षान्तको पहिलो चरणमा दीक्षित भएको काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्टसका सहप्राध्यापक एवं विश्वविद्यालयका प्रवक्ता एक्कुमाया पुनले बताइन्।
समारोहमा काठमाडौं विश्वविद्यालयको इतिहासमा पहिलोपटक स्कुल अफ इञ्जिनियरिङ अन्तर्गत् माष्टर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्समा एक, स्कुल अफ मेडिकल साइन्सेजअन्तर्गत् माष्टर अफ साइन्स इन मिडवाइफेरी नर्सिङमा आठ र स्कुल अफ एजुकेसनअन्तर्गत् माष्टर इन हायर एजुकेशनमा नौ जनालाई पनि उपाधिको प्रमाणपत्र दिइएको थियो।
यसैबीच विश्व विद्यलायले प्रदान गर्दै आएका पदकमध्ये पहिलो चरणको भाइस चान्सलर स्वर्णपदक स्नातक तहमा सबैभन्दा बढी अङ्क ८४ दशमलव २६ प्रतिशत ल्याउन सफल विराटनगरको विराट मेडिकल कलेजका सनम ढकाललाई प्रदान गरिएको थियो।
त्यस्तै एमबीए तहमा सबैभन्दा बढी ३ दशमलव ८९ सिजीपीए प्राप्त गर्न सफल स्कुल अफ मेनेजमेन्टका विनायक घिमिरेलाई जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक, एमबीएमा ३ दशमलव ७८ सिजीपीए प्राप्त गरी सर्वोत्कृष्ट हुन सफल स्कुल अफ मेनेजमेन्टका विद्यार्थी अङ्कित सुवेदी, एमबीबीएसतर्फ स्नातक तहमा सबैभन्दा बढी अङ्क ८० दशमलव २९ प्रतिशत प्राप्त गर्न सफल विराज मेडिकल कलेजका संस्कृतिश्री ढकाललाई न्हुछेरत्न तुलाधर स्वर्ण पदक र स्कुल अफ मेनेजमेन्टमा स्नातक तहमा सबैभन्दा बढी ३ दशमलव ९७ सिजीपीए प्राप्त गर्न सफल सौगात बाँस्तोलालाई प्रेमराज पन्त स्वर्ण पदक प्रदान गरिएको थियो। दीक्षान्त समारोह शताब्दी पुरुष वरिष्ठ चिकित्सक डा. गौरीशङ्करलाल दासको पनि सहभागिता थियो।














