टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा भएको छ । सन्दीप लामिछानेलाई समेट्दै रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो ।
टी-२० आई त्रिकोणात्मक शृङ्खला खेलेको टिममा रहेका लोकेश बम, सूर्य तामाङ, श्याम (मौसम ) ढकाल र सागर ढकाल भने अन्तिममा अटाउन सकेनन्।
श्याम ढकालले त्रिकोणात्मक सिरिजमा मुलपानीमा युएईविरुद्ध डेब्यू गरेका थिए ।
उनले युएई र हङकङसँग खेल्ने अवसर पाएका थिए । सन्दीप लामिछाने नहुँदा लेग स्पिनरको रुपमा उनलाई नेपालले टोलीमा समेटेको थियो ।
आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखि २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ । समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् ।
समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।
नेपालको टोली :
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि.सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी ।














