काठमाडौँ – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जहाज खरिदबापत लिएको ऋण भुक्तानी गरेको छ।
निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबढी र दुई वाइडबडी जहाजको लागि दुवै कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारोबढी जहाजको २०८० असोज महिनाको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी रु ५३ करोड ९ लाख ५५ हजार २८१ रकम भुक्तानी गरेको विज्ञप्तिमार्फत जनाएको हो।
यसअघि निगमले २०७९ असारदेखि २०८० असार सम्मको अवधिमा रु ३ अर्ब ७७ करोड ३८ लाख २१ हजार १२५ रकम भुक्तानी गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।
उनका अनुसार निगमको आम्दानीमा विगत वर्षमा भन्दा सुधार हुँदै गएको र नगद प्रवाहमा सुधार भएपश्चात् प्रमुख इन्जिन मर्मत खर्च, नियमित तथा आकस्मिकरुपमा हुने जहाज मर्मतसम्भार खर्चसमेत व्यहोरी विभिन्न निकायमा रहेका पुराना बक्यौता रकमसमेत आफ्नै स्रोतबाट भुक्तानी गरी नियमित गरीएको छ।
निगमले दुर्गम क्षेत्रमा उडान भर्ने तीनवटा साना जहाज आन्तरिक स्रोतबाट नियमानुसार प्रक्रिया पूरा गरी निर्माता कम्पनीसँग खरिद गर्ने कार्ययोजनासमेत अन्तिम चरणमा रहेको जनाएको छ। ती जहाजमार्फत नेपालका दुर्गम क्षेत्रमा सेवा विस्तार गरिनुका साथै पर्यटन प्रवद्र्धनको साथै निगमको उपस्थितिले भाडा दरमा सन्तुलन कायम हुने विश्वास लिइएको छ।
निगमले अन्तर्राष्ट्रिय उडानका आफ्ना सबै जहाज सञ्चालनमा आएको जनाएको छ। प्राविधिक समस्या आएका कारण ग्राउण्डेड रहेका ती जहाज सबै सञ्चालनमा आएको निगमले जनाएको छ। निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानका लागि समान दुई थान वाइडबडी र न्यारोबडी गरी कूल चार वटा जहाज छन्। असोज २९ गतेदेखि नै निगमका सबै जहाज नियमित उडानमा रहेकाले चाडपर्वका अवसरमा यात्रुलाई गन्तव्यमा पुग्न सहज हुने निगमले उल्लेख गरेको छ।














