काठमाडौँ – पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दद्वारा लिखित उपन्यास ‘अपराजिता’ को लोकार्पण गरिएको छ। सुदूरपश्चिम क्षेत्रको सामाजिक परिवेश तथा सशस्त्र द्वन्द्वका समयमा त्यहाँका जनताले भोग्नुपरेको समस्यालाई उजागर गरी लेखिएको उक्त उपन्यासको शुक्रबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकार्पण गरेकी हुन्।
लोकार्पणपछि पूर्वराष्ट्रपति भण्डारीले ८० वर्ष नाघिसक्नुभएका चन्दले उपन्यास लेखेर देखाउनुभएको सक्रियताबाट नयाँ पुस्ताले पाठ सिक्नुपर्ने बताइन्। “८० वर्ष नाघिसकेको अवस्थामा समेत चन्दले साहित्य सिर्जनालाई निरन्तरता दिएर अपराजिता जस्तो उत्कृष्ट उपन्यास लेखन गर्नु हामी धेरैलाई विस्मृत पार्ने कुरा हो,” उनले भनिन्।
पुस्तकका लेखक, पूर्वप्रधानमन्त्री चन्दले आफ्नो एउटा उपन्यास लेख्ने धोको भए पनि विगतमा समय अभावका कारण कथामै टुङ्ग्याएको बताए। उक्त कृतिलाई उपन्यासको रुपमा प्रकाशित गर्न पाउँदा सन्तोष लागेको उनले उल्लेख गरे।
पुस्तकमा शान्तिपूर्ण अहिंसात्मक आन्दोलनको माध्यमबाट नै सिङ्गो सामाजिक परिवर्तन गर्न सकिने आफ्नो वैचारिक एवं दार्शनिक मतलाई प्रस्तुत गरिएको पूर्वप्रधानमन्त्री चन्दको भनाइ छ।














