काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार रहेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासङ्घले आज काठमाडौँमा आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले निजी क्षेत्रले प्रस्ताव गरेको उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार रहेको बताए।
“अर्थतन्त्र सुधारका लागि सबै क्षेत्र एक ठाउँमा हुने र केन्द्रीकृत अभिव्यक्ति आवश्यक छ। आर्थिक सुधारको नयाँ आयाम सुरु गर्नका लागि सुझाव र मार्गदर्शन आवश्यक पर्ने भएकाले त्यस्तो संयन्त्र चाहिएको छ”, प्रधानमन्त्री दाहालले भने, “सुधारको प्रयास यही विन्दुबाट सुरु हुन सक्दछ। आर्थिक गतिविधि अगाडि बढ्न सक्छन्। निजी क्षेत्रले प्रस्ताव गरेको यस्तो उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार छ।”
नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित सो राष्ट्रिय बहस कार्यक्रममा अध्यक्ष चन्द्रप्रसाद ढकालले सो संयन्त्र निर्माणको प्रस्ताव गरेका थिए। त्यसपछि कार्यक्रमलाई सम्बोधन गरेका प्रधानमन्त्रीले सो संयन्त्र गठनमा सहमति जनाएका हुन्।














