एडीबीले बढायो सहायता

काठमाडौं : एसियाली विकास बैंक (एडीबी)ले कोभिड–१९ महामारी नियन्त्रण गर्न नेपाललाई दिने सहायता बढाउने तयारी गरेको छ। भर्खरै २५करोड अमेरिकी डलर ऋण सहायता सम्झौता गरेको एडीबीले अनुदान सहायता थप्ने भएको हो। अर्थ मन्त्रालयले दिएको जानकारी अनुसार

एडीबीले ४८ लाख ९० हजार डलर अनुदान सहायता दिने तयारी गरेको छ। यसमध्ये १८ लाख ९० हजार अमेरिकी डलर कोभिड–१९ को उपचारार्थ आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्न प्रयोग गरिनेछ। प्राविधिक सहायताअन्तर्गत उपलब्ध हुने यो सहायता मंगलबारको विनिमय दरअनुसार २२ करोड ९१ लाख रुपैयाँ बराबर हो। त्यसबाहेक ३० लाख अमेरिकी डलर प्रकोप नियन्त्रणका लागि दिने भनिएको छ। मंगलबारको दरमा यो ३६ करोड ३० लाख रुपैयाँभन्दा बढी हो। एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फन्ड शीर्षकअन्तर्गको यस्तो सहायता प्रकोप न्यूनीकरणका लागि दिने गरेको छ। यो रकम सरकारले कोरोना महामारी जोखिम न्यूनीकरणमा खर्च गर्न सक्नेछ।

२० करोड डलर सम्झौता
नेपालको ऊर्जा क्षेत्र सुधारका लागि एडीबीले सोमबार २० करोड अमेरिकी डलर सहुलियत ऋण स्वीकृत गरिसकेको छ। नेपालको ऊर्जा प्रसारण र वितरण विगतका तुलनामा सुधारोन्मुख भए पनि गुणस्तरमा अझै सुधार गर्नु आवश्यक भएको भन्दै एडीबीले ऋण दिने भएको हो।

यो परियोजना विद्युत्को चाप बढी हुने वाग्मती प्रदेशका प्रमुख सहर भरतपुर, काठमाडौं उपत्यका र गण्डकी प्रदेशको पोखरामा केन्द्रित छ। कमजोर विद्युत् आपूर्ति र राष्ट्रिय प्रसारणबाट वञ्चित २० प्रतिशत घरधुरी भएको प्रदेश २ मा सहायता पु¥याउने योजना छ। एडीबीका ऊर्जा विज्ञ जीवन आचार्यले यो परियोजनाले कोविडले रोजगारी गुमाएका युवालाई अवसर प्रदान गर्ने बताए।

एडीबीको ऋणसँगै नर्वे सरकारले ३ करोड ५० लाख डलर सहायता दिनेछ। यो प्रदेश २ मा विद्युत् वितरण सञ्जाल विकासमा खर्च हुनेछ। थप ५० लाख डलर प्रविधिक सहायताका रुपमा लैंगिक समानता र सामाजिक समावेशिता मजबुत बनाउन र विद्युत् पूर्वाधार विकासका लागि दिने भनिएको छ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।