बजेट सकाउन असारे विकासको चटारो

कालिकोट : जिल्लाका अधिकांश स्थानीय तहमा बजेट सिध्याउनकै लागि असारमा धमाधम विकास निर्माणका काम भइरहेका छन् । गत वर्षसम्म जसरी असारको महिनामा विकास निर्माणका काम गरिन्थ्यो । यस वर्ष पनि कोरोनाको महामारीका कारण तीन महिना लगातार लकडाउन भएपछि गत वर्षको तुलनामा दोब्बर विकास निर्माणका योजनाको काम असारमै हुन थालेको स्थानीय नागरिकले बताएका छन् ।

जिल्लाको रास्कोट नगरपालिका वडा नं. ५ स्थित आरसीपी बजार बृहत खानेपानी योजनाको जेठको अन्तिममा सम्झौता भयो । असारबाट धमाधम काम भइरहेको छ । उपभोक्ता समितिले पुरानै पाइप लाइनमा पुरानै पाइप दबाएर निर्माण सुरु गरेको उक्त आयोजना स्थानीयको विरोधपछि पाइप खरिद गरिएको छ । आरसीपी बजार बृहत खानेपानी उपभोक्ता समितिका अध्यक्ष गंगबहादुर शाहीले भने, ‘कर्णाली प्रदेश सरकारबाट आएको ५५ लाख बजेटको जेठ १४ गते उपभोक्ता समिति गठन भयो । उपभोक्ता समिति गठन भएपछि विवादका कारण असारबाट काम सुरु गरियो । जसका कारण नयाँ पाइप खरिद ढिलो भएको हो । अबको केही दिनमा पाइप योजना स्थलमा पुगाउछौँ ।’

यस्तै रास्कोटमै बृहत रंगशालाको काम पनि असारमै निर्माण थालिएको छ । स्थानीय युवा आनन्दबहादुर शाहीले भने, ‘प्रदेश सरकारको १ करोड ५५ लाख बजेट रहेको उक्त रंगशाला असारमा काम सुरु भएको छ । कति विकास हुने हो । गत आर्थिक वर्षमा सामान्य माटो खनेर एक करोड उक्त रंगशालामा खर्च गरेका छन् । अहिले पनि कामको अवस्था उस्तै छ ।’

यस्तै जिल्ला सदरमुकाम स्थित शेरीघाटबाट थानकोट हुँदै बद्रीगाँउ जाने सडकको काम पनि जेठको अन्तिमबाट काम सुरु गरिएको छ । शुभकालिका गाँउपालिकाका चार वटा सडकको पनि जेठमै काम थालिएको छ । पचालझरना गाँउपालिकाको भैसासैनदेखी नानीकोट सडकखण्डको स्तोरोन्नतीको काम पनि जेठबाटै सुरु गरिएको छ । नरहरीनाथ गाँउपालिकामा पनि सडक, खानेपानी लगायतका महत्वपूर्ण योजना जेठ महिनाबाटै सुरुवात गरिएका छन् ।
पचालझरना गाँउपालिका वडा नं. ७ का जेष्ठ नागरिक बिरबल बुढाले भने, ‘स्थानीय सरकार आएपछि के के न होला सोचेका थियौँ । अहिले कुनै फरक महसुस भएन ।’ विकासको गति पुरानै रहेको उनको भनाइ छ । उनले भने, ‘जेठमा विकासी योजनाको सम्झौता गरेर असारमा सुरु गरेको विकासले कति विकास होला । यसले उपभोक्ता बन्ने र केही कमाउने बाहेक केही परिवर्तन ल्याउन सक्दैन।’

गाउँगाउँमा सरकार पुगे पनि विकास निर्माणका काम र अन्य गतिविधि पुरानै गतिमा रहेको भन्दै स्थानीय नागरिकले असन्तुष्टि जनाउँदै आएका छन् । ‘स्थानीय सरकार बनेपछि समयमै विकास निर्माणका काम हुन्छन् भन्ने आशा भए पनि त्यसको हुन नसकेको जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ८ का सन्तोश मल्लले बताए । उनले भने, ‘स्थानीय सरकार भएको अनुभुति गरिएको भए पनि असारे प्रवृति भने कायम छ ।’ विकास निर्माणका काम ढिलो सुरु हुँदा असारमा कतिपय काम गरिरहेको र कतिपय उपभोक्ता भुक्तानी लिन लागेका छन् ।

जिल्लाका सान्नीत्रिवेणी गाँउपालिका, तिलागुफा नगरपालिका लगायतका स्थानीय तहमा पनि असारे विकास उस्तै छ । सडक, विद्युत, खानेपानी लगायतका योजनाहरु समयमै काम सुरु नगर्दा निर्माण कार्य सम्पन्न गर्न ढिलाइ भएको उपभोक्ता बताउँछन् ।

जिल्लाको रास्कोट नगरपालिका प्रमूख कासीन्द्र बरालले यस वर्ष कोरोनाको महामारीका कारण विकास निर्माणका योजना निकै प्रभावित भएको बताए । उनले भने,‘हामीले जेठको अन्तिम सातासम्म सबै विकास निर्माणका योजनाहरु निर्माण सम्पन्न गरी अनुगमनसमेत गर्ने तयारी गरेका थियौँ । असारमा भुक्तानीका कामहरु गर्ने लक्ष्य थियो । तर कोरोनाले मुलुक लकडाउन भएपछि कतिपय सम्झौता गरेका त कतिपय सम्झौताको तयारीमा रहेका योजनाहरु जस्ताको तस्तै रोकिए ।’ जेठबाट सरकारले लकडाउनलाई केही रुपमा खुकुलो बनाएपछि सामाजिक दुरी कायम गर्ने गरी विकासको काम सुरु गरेको उनले बताए । ‘असारको अन्तिम साताजम्म जति काम हुन्छ त्यसको प्राबिधिक मुल्यांकन गरी उति भुक्तानी हुन्छ । बाँकी बजेट फ्रिज जान्छ’, उनले भने । विकासमा आएको बजेट काम गरे अनुसार मात्र भुक्तानी दिने र कुनै पनि हालतमा दुरुपयोग हुन नदिने उनको भनाइ छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

You may have missed