झापामा कुवेतबाट फर्किएका सात जना महिलामा कोरोना संक्रमण पुष्टि

विराटनगर । झापामा कुवेतबाट फर्किएका सात जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अधिकृत जीवन चौलागाईंका अनुसार झापामा मंगलबार संक्रमण पुष्टि भएका १४ जना मध्ये सरकारले कुवेतबाट उद्दार गरी ल्याएका ७ जना महिलामा

कोरोना संक्रमण देखिएको हो । एक जना महिला भने भारतको आसामबाट झापा आएकी हुन् । उनीहरु सबै जना आ-आफ्नो स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा बस्दै आएका थिए । संक्रमित हुनेमा झापाको मेचीनगरका ३ जना महिला र बुद्धशान्ति नगरपालिकाका ३ जना महिला र ३ जना पुरुष, हल्दीबारीका २ जना महिला, विर्तामोड नगरपालिकाका २ जना पुरुष र कचनकवल गाउँपालिकाका १ जना पुरुष छन् । ती मध्ये मेची नगरकी एक महिला र चार पुरुष भारतबाट आएकाहरु हुन् ।

प्रदेश १ मा थपिए २० जना कोरोना संक्रमित
झापाका १४ जनासहित मंगलबार प्रदेश १ मा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १० जना महिला छन् ।प्रदेश १ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सूचना अधिकारी क्षितिश भट्टराईका अनुसार मोरङको विराटनगर महानगरपालिका र सुन्दरहरैचाका १/१ जना, सुनसरीको धरानका २ जना महिला, कोसी गाउँपालिकाका १ जना पुरुष र ओखलढुंगाका १ जना पुरुष गरी कुल २० जनामा संक्रमण पुष्टि भएको हो ।योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ सय ८३ पुगेको छ ।

डिस्चार्ज हुनेको संख्या २८५ जना पुग्यो
प्रदेश १ मा कोरोना जितेर घर फर्कनको संख्या २८५ पुगेको छ । मंगलबार धरानबाट थप २७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १८ महिने बालकदेखि ६० वर्ष उमेर समूहका रहेको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।मंगलबार झापाका ४, मोरङका १८ र सुनसरीका ५ जना धरानबाट डिस्चार्ज भएका हुन् ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।