सगरमाथाजस्तै उच्च सम्झौता

धेरै राष्ट्रको परराष्ट्र नीति उसको आन्तरिक नीतिको नै विस्तारित रूप हुन्छ, तर अपवादमा केही राष्ट्र छन्, जसको परराष्ट्र नीतिले आन्तरिक नीतिमा प्रभाव पार्छ त्यस्ता अपवादका मुलुकमा नेपाल पनि पर्छ भारत र चीनको नीतिले नेपालको आन्तरिक नीतिमा प्रभाव पर्ने गरेको छ।’ ‘नेपाल स्ट्राटिजी फर सर्भाइबल’ मा अमेरिकी प्राध्यापक लियो ई रोज। सन् १९५५-०५६ देखि नियमित रूपमा नेपाल आउने गरेका रोजले नेपालको गहन अध्ययन गरेर यो पुस्तक लेखेका हुन्। नेपालको महत्वपूर्ण घटनामा यी दुई छिमेकीको गहिरो प्रभाव पर्छ भन्ने अहिले नेपालको भारत र चीनसँगको सम्बन्धले पनि दर्शाउँछ।

लिम्पियाधुरा र लिपुलेक हुँदै नेपालको भूमि भएर चीनसँग जोड्न भारतले बनाएको बाटोलाई लिएर नेपालले जनाएको असन्तुष्टिलाई भारतीय स्थल सेनाध्यक्षले ‘कसैको इशारामा नेपालले यो विरोध गरेको’ बताए। लिम्पियाधुरा लिपुलेक हुँदै नेपालको पश्चिम भाग कालापानीमा भारतले बनाएको मोटरबाटोको कसरी पटाक्षेप हुन्छ धेरै हदसम्म नेपालको भोलिको भारत चीन नीति अघि बढ्नेछ। हात्ती दायाँबायाँ जता मोडिए पनि माडिने दुबो नै हो। बीपीले आफ्नो डेढ वर्षको शासनमा दुवै छिमेकी भारत र चीनसँगको सम्बन्धमा लिएका युगान्तकारी दुई घटना यहाँ चर्चा गर्नेछु।

२०१६ सालमा बीपी प्रधानमन्त्री भएकै समयमा चीनले सेना पठाएर ल्हासा कब्जा गर्‍यो। दलाई लामा भागेर नेपाल हुँदै भारतको धर्मशालामा गएर बसे। उनका अनुयायी ल्हासामा लुटपाट मच्चाउँदै नेपाल भएर धर्मशाला गए। तीमध्ये केही नेपालको सिमाना मुस्ताङ आदि जिल्ला प्रवेश गरे। तिब्बतीहरू सिमानामा बस्दै ल्हासातिर लुटपाट मच्चाउन थालेपछि मुस्ताङ आदि विभिन्न सीमामा नेपाल सरकारले पनि आफ्नो सेना खटायो। यसरी सेना खटाइएका जिल्लामध्ये मुस्ताङ प्रमुख थियो। तिब्बती लुटेरा भनी चिनियाँ जनमुक्ति सेनाले चलाएको गोलीबाट नेपालको सुरक्षामा खटिएका सेनाका सुबेदार बमप्रसाद बाँस्कोटा मारिए। अरू केही जवान घाइते भए। यस घटनाले एकैसाथ अन्तर्राष्ट्रिय रूप लियो। पश्चिमा पत्रपत्रिकाले प्रमुखताका साथ छापे। कतिपयले तिब्बतपछि चीनले नेपाल पनि कब्जा गर्न लाग्यो भन्ने समाचार सम्प्रेषण गरे।

नेपालभित्र पनि ठूलो हल्लीखल्ली मच्चियो, त्यतिबेला संसद् चलिरहेको थियो, स्वाभाविक थियो संसद्मा पनि यो प्रश्न उठ्यो। संसद्मा प्रमुख प्रतिपक्ष दलका संसदीय दलका उपनेता बेनीबहादुर कार्कीले प्रश्न उठाए। कांग्रेसका पनि कतिपय सांसदले सरकारको ध्यानाकर्षण गराए। सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री बीपीले संसद्मा वक्तव्य दिनुभयो- चिनियाँ सेनाको यो कदमको नेपाल सरकारले विरोध जनाउँदै चिनियाँ प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको संसद्लाई जानकारी गराउनुभयो। सन् १९५६ को वाङडुङ सम्मेलनपछि एसिया अफ्रिकाका नवोदित राष्ट्रको नेतृत्व कसले लिने भन्नेमा चीनका प्रधानमन्त्री चाउ एन लाई र भारतका प्रधानमन्त्री नेहरूबीच एक किसिमको प्रतिस्पर्धा भइसकेको थियो। मुस्ताङ घटनालाई लिएर भारतीय संसद्मा प्रश्न उठ्दा सन् १९५० को सन्धिअनुसारको भारतमाथिको हमला हो। उचित समयमा भारतले जवाफ दिनेछ।

नेहरूको यस भनाइबाट मुस्ताङ घटना त्रिपक्षीय विवादको विषय बन्यो। नेपालमा फेरि सांसदले प्रधानमन्त्रीसँग प्रश्न गरे, ‘तपाईंको जवाफ र नेहरूका भनाइमा फरक देखियो- कुन सत्य हो ? के नेहरूका भनाइ नेपाल सरकारले स्वीकार गर्छ ? ’ सांसदहरूको प्रश्नमा बीपीले भन्नुभयो, ‘पत्रपत्रिकामा नेहरूका भनाइ मैले पनि हेरें। यो समस्या सुल्झाउन नेपाल आपैmं सक्षम छ। सन् १९५० को सन्धिलाई नेहरूजीले गरेको व्याख्यासँग म सहमत छैन।’ बीपीका भनाइ र तपाईंका भनाइमा फरक देखियो- कुन सत्य हो ? के बीपीले गरेको सन् १९५० को सन्धिको व्याख्यालाई भारत सरकार स्वीकार गर्छ ? भारतीय संसद्मा पुनः प्रश्न उठ्यो। त्यतिबेला धेरैजना सांसद समाजवादी दलका थिए र कांग्रेसका पनि कतिपय सांसद बीपीका मित्र थिए। सांसदहरूको प्रश्नको जवाफमा नेहरूले उत्तर दिए, ‘बीपीको भनाइ मैले पनि पढें- सन् १९५० को सन्धिको सम्बन्धलाई लिएर बीपीले गरेको व्याख्या भारत सरकार स्वीकार गर्छ’ नेहरूले जवाफ दिए।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।