एन्फा आपत्कालीन बैठक, तासीलाई फर्काउने

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि कारबाही गरिएका मानार्थ अध्यक्ष तासी घलेलाई एन्फा फर्काउने निर्णय गरेको छ। एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको अध्यक्षतामा मंगलबार बसेको कार्यसमितिको आपत्कालीन बैठकले उक्त निर्णय गरेको हो।

दुई वर्षअघि एन्फाको निर्वाचित नयाँ कार्यसमितिले मानार्थ अध्यक्ष बनाएपछि तासीले कार्यसमितिको कामकारबाहीप्रति असन्तुष्टि जनाएका थिए। त्यसपछि एन्फा कार्यसमितिले मानार्थ अध्यक्ष पद खारेज गरेको थियो। त्यसको विरोधमा अदालतमा उजुरी दिएका तासीलाई अदालतले हटाउनुपर्ने कुनै कारण नभएको भन्दै पदमा फर्काउन आदेश दिएको थियो। अदालतको आदेशमा सुरुमा चासो नदिएको एन्फाले लामो समयपछि तासीलाई फर्काउने निर्णय गरेको हो।

यसैगरी बैठकले विधानविपरीत निर्वाचन गरेको भन्दै गौतम सुजखु नेतृत्वमा रहेको भक्तपुर जिल्ला फुटबल संघलाई भंग गरी १३ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ। बैठकले किशोर हेक्कालाई अध्यक्षको जिम्मेवारी दिएको छ। यसैगरी विश्व फुटबल महासंघ (फिफा) ले उपलब्ध गराएको कोरोना सहयोग विभिन्न जिल्ला,

क्लब, खेलाडीलगायतलाई प्रदान गर्ने निर्णय पारित गरेको छ। बैठकले कोरोनाबाट प्रभावित फुटबल गतिविधि सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग समन्वय गर्ने, राष्ट्रिय टोलीको प्रशिक्षण यसै महिना सुरु गर्नेलगायतका निर्णय पनि गरेको छ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।