पोखरा थन्डर्सलाई टाइब्रेकरमा ४-३ हराउँदै धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पुगेको छ । निर्धारित ९० र थप ३० मिनेटमा २-२ गोलको बराबरीपछि भएको टाइब्रेकरमा धनगढीले बाजी मारेको हो।
धनगढी पहिलो संस्करणमा पनि फाइनल पुगेको टोली हो। धनगढी दोस्रो संस्करणको एनएसएलको फाइनल प्रवेश गर्ने पहिलो टोली पनि बनेको छ। लिग तालिकामा धनगढी दोस्रो स्थानमा थियो भने पोखरा शीर्षस्थानमा थियो।
निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि ३० मिनेट थपिएको थियो। खेलको पाँचौ मिनेटमा नै पोखराले आयुष घलानको गोलमा अग्रता बनाएको थियो। पहिलो हाफमा १-० को अग्रता बनाएको पोखरालाई खेलको ५४ औं मिनेटमा धनगढीका देवेन्द्र तामाङले गोल गर्दै बराबरीमा ल्याए।
त्यसपछि बाँकी समयमा गोल हुन नसक्दा समय थप भयो। थपिएको समयमा पनि पोखराले नै अग्रता बनायो। पोखराका लागि स्टेफन अन्नोरले थप समयको १०४ औं मिनेटमा गोल गरे। तर खेलको अन्तिम समयमा धनगढीका अहमद हिजाजीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। त्यसपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
पेनाल्टी सुटआउटमा पोखराका मोसेस ग्याबा र आयुष घलानको प्रहारलाई धनगढीका गोल रक्षक ताहाले जोगाउँदा धनगढी उपाधि जित नजिक पुगेको हो। धनगढीलाई हारबाट जोगाउन महत्वपूर्ण गोल गरेका हिजाजी भने पेनाल्टी सुट आउटमा गोल गर्न बाट चुके। उनको प्रहार पोखराका गोल रक्षक प्रिसोले जोगाएका थिए।
धनगढीले अब शनिबार हुने फाइनल खेलमा उपाधिका लागि खेल्ने छ। पोखराले भने फाइनल प्रवेश गर्ने थप एक अवसर पाउने छ। पोखराले तेस्रो र चौथो भएका काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी बीचको विजेताविरुद्ध फाइनल प्रवेशका लागि क्वालिफायर २ खेल्नेछ।
काठमाडौं र ललितपुर बीचको खेल मंगलबार हुनेछ भने क्वालिफायर २ बिहीबार हुने छ।














