आइसिसी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन्।
पहिलो खेल अस्ट्रेलिया र बंगलादेशबीच हुँदैछ । यो खेल पुनेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसनको मैदानमा नेपाली समय अनुसार बिहान १०: ४५ बजेदेखि सुरु हुनेछ।
अस्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ र सेमिफाइनलमा दक्षिण अफ्रिकासँग खेल्ने निश्चित भएकोले यस खेलको नतिजाले अस्ट्रेलियालाई कुनै फरक पर्ने छैन।
तर बंगलादेशका लागि भने २०२५ को च्याम्पियन्स ट्रफीमा छनौटका लागि यो खेलको जित आवश्यक रहेको छ । अहिले बंगलादेश आठौं स्थानमा छ।
त्यसैगरी आज अर्को खेलमा पाकिस्तानले इङ्गल्याण्डको सामना गर्ने छ । कोलकोतास्थित इडेन गार्डेन स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार दिउँसो २: १५ बजेदेखि हुनेछ ।
प्राविधिक रुपमा पाकिस्तानको सेमिफाइनल यात्राको सम्भावना भए पनि व्याबहारिक रुपमा भने सम्भव देखिदैन । पाकिस्तान सेमिफाइनलमा पुग्न इङल्याण्डलाई २८७ रन अन्तरले पराजित गर्नुपर्ने देखिन्छ भने इङ्गल्याण्डले दिएको लक्ष्य बढीमा २२ बलमा चेज गर्नुपर्ने असम्भव अंक गणित रहेको छ । यसका लागि कुनै चमत्कार नै हुनुपर्ने देखिन्छ ।
त्यस्तै इङल्याण्ड सेमिफाइनलको दौडबाट बाहिरिइसकेको छ भने हाल सातौं स्थानमा रहेकाले यो खेल हारेपनि च्याम्पियन्स ट्रफिमा स्थान बनाउने सम्भावना देखिएको छ ।














