अमेरिकाबाट फर्किएका कृषि विज्ञद्वारा चितवनमा स्ट्रबेरी खेती, उत्पादन राम्रो हुने संकेत !

March 29, 2021 134

हिरालाल आचार्य : चचितवनमा स्ट्रबेरी खतीको उत्पादन राम्रो हुने संकेत देखिएको छ । बेरी संसार’ले गरेको परीक्षणात्मक खेतीका क्रममा चितवनमा स्ट्रबेरीको खेतीको सम्भावना राम्रो भएको पाइएको हो । बेरी संसार’कृषि विज्ञहरुले सञ्चालन गरेको एउटा कम्पनी हो ।

जसले नेपालमा स्ट्रबेरी खेतीको संभाव्यता अध्ययन गरिरहेको छ । यसले विदेशबाट बिरुवा ल्याएर नेपालमा खेती गरेर अध्ययन गरिरहेको छ । कृषि विज्ञहरु ससन देवकोटा र डा. राजेन्द्र गौतम यसमा आबद्ध छन् । यी दुबै जना अमेरिकामा कृषि पढेर र काम गरेर अनुभव बुटुलेका कृषि विज्ञहरु हुन् ।

ससन देवकोटाले पछिल्लो सयम चितवनमा स्ट्रबेरीको खेती गरिहेका छन् । उनले गरेको खेतीले राम्रो उत्पादन दिएको छ । देवकोटाले भरतपुर महानगरपालिका–५ स्वामी चोकमा स्ट्रबेरीको खेती गरेका छन् । उनले १२ कठ्ठा जग्गामा १५ हजार बिरुवा लगाएर यसको खेती गरिरहेका छन् ।

३० लाखको लगानीमा खेती गरिएको देवकोटाले जानकारी दिए । ‘चितवनको हावापानीमा स्ट्रबेरीको खेती हुन्छ कि हुँदैन भनेर परीक्षण गर्न खेती सुरु गरेको हुँ, उनले भने, ‘तराईमा स्ट्रबेरीको सम्भावना सम्भावनानै पाइयो ।

एक वर्षपछि चितवनका किसानलाई यो खेती गर्न आग्रह गर्छाैं’ उनले भने । अहिले बजारमा ७०० रुपैयाँ किलोमा उनले स्ट्रबेरी बेचिरहेका छन् । उनले बारीमै आएर टिपेर लैजाने व्यवस्था पनि मिलाएका छन् । यस्तै भाटभटेनी र मण्डीमार्फत उनले स्ट्रबेरी खपत गराइरहेका छन् ।

ससनको बेरी संसारले नेपालमा स्ट्रबेरीको व्यावसायिक खेती गर्न किसानलाई सल्लाह सुझाव, प्राविधिक ज्ञान प्रदान, बिरुवाको आपूर्ति गर्नुका साथै हौसला प्रदान गर्दै आएको छ । चितवनपछि पश्चिम नेपालमा यसको परीक्षणात्मक खेत गर्ने योजना रहेको उनले सुनाए । बेरी संसारले काठमाडौं र बिराटनगरमा फार्म खोलेर स्ट्रबेरीको खेती गर्दै आएको छ ।

एजीमा एमएस्सी गरी अमेरिकामा स्ट्रबेरी खेतीमा तीन वर्ष काम गरेको अनुभव भएका कृषि विज्ञ ससनले आगामी वर्षबाट स्देशमै बिरुवा उत्पादन गरेर सबै किसानलाई लगाउन आग्रह गरिने बताए । अमेरिकामा विकसित बिरुवा ल्याएर परीक्षण गरिहेको उनले बताए । उनले भने ‘ठाउँ अनुसारको बिरुवा पत्ता लगाउँदै छौं, अनुसन्धान गर्दै छौं ।’

के हो स्ट्रबेरी ?

देवकोटाका अनुसार स्ट्रबेरी फ्रागार्या प्रजातिको बिरुवा हो । यो फल रातो रंगको हुन्छ । यस फललाई ताजा फलको रूपमा खान सकिन्छ । साथै प्रशोधन गरी जाम, रस, आइसक्रिम, मिल्क शेक, फ्लेबर बनाउने गरिन्छ । यो फललाई पौष्टिकताको हिसाबले महत्वपूर्ण मानिन्छ । यसमा भिटामिन सी लगायतका विभिन्न खनिज तत्वहरु पनि पाइन्छ ।

देवकोटाका अनुसार स्ट्रबेरीको एउटा बोटबाट ६०० ग्रामदेखि एक किलोग्रामसम्म फल फल्छ । यसको फललाई फ्रिजमा राख्दा तीन देखि ५ दिनसम्म टिकाउन सकिन्छ । सामान्यरुपमा बाहिर राख्दा २÷३ दिनसम्म यसको फल कुहिँदैन । फूल फुलेको करिब ३० देखि ४५ दिनभित्र फलको विकास भई टिप्न लायक हुन्छ ।

स्ट्रबेरीको बिरुवा रोपेको दुई महिनापछि यसले फल दिन थाल्छ । यसले दुई महिनासम्म फल दिन्छ । यस अवधिमा फुल फुल्ने, फल लाग्ने र टिप्ने क्रम चलिरहन्छ । स्ट्रबेरीको खेती चिसो मौसममा हुने गर्छ । यसको विश्वव्यापी खेती गर्ने गरिन्छ । प्राय जसो अमेरिका लगायतका युरोपियन मुलुकहरुमा यसको व्यावसायिक खेती धेरै गरिने गरेको देवकोटाले जानकारी दिए ।

विशेष गरी स्ट्रबेरी सामुन्द्रिक सतहदेखि दुई हजार मिटरसम्मको उचाइमा गर्नु राम्रो हुन्छ । यसको फूल फुल्नका लागि १५ डिग्री सेल्सियसभन्दा कम तापक्रमको आवश्यक पर्दछ । तर हिउँ पर्ने अर्थात् तापक्रम माइनसमा हुने स्थानमा पनि यसको खेती गर्न सकिँदैन । त्यस्तै ३५ डिग्री सेल्सियस तापक्रमभन्दा माथिको हावापानीमा पनि यसको खेती सम्भव हुँदैन ।

स्ट्रबेरी चिसो हावापानीमा फस्टाउने बाली भए पनि जैविक प्रविधि विकासले यसका विभिन्न जातलाई तुल’नात्मक रुपमा गर्र्मी मानिएका ठाउँमा समेत उत्पादन गर्न सम्भव हुने बनाएको छ । फलस्वरुप वातावरणीय दृष्टि’कोणले उष्ण मानिएका विश्वका कैयौं ठाउँमा स्ट्रबेरी उत्पादन सफल भएको छ । यसैले नेपालको तराई क्षेत्रमा पनि परीक्षण स्वरुप स्ट्रबेरी खेती थालिएको देबकोटा बताउँछन् ।

कसरी गरिन्छ स्ट्रबेरीको व्यावसायिक खेती ?

विज्ञ देवकोटाका अनुसार ७०–९० सिएमको चौडाई भएको ड्याङ् बनाएर ३०–३५ सिएमको अन्तरमा बिरुवा रोप्नुपर्छ । एउटा ड्याङ्मा दुई लाइनमा बिरुवा लगाउनुपर्छ । ड्याङ्बीचको दुरी ४५ सिएम हुनुपर्छ । स्ट्रबेरीको खेती दोमट माटोमा गर्नु राम्रो हुन्छ ।

यसका बिरुवा साना र लहरा जाने किसिमका भएकोले जग्गाको तयारीमा निकै ध्यान पु¥याउनु पर्दछ । माटोलाई २–३ पटक खनजोत गरी डल्ला फुटाई झारपात हटाई माटोलाई खुकुलो र बुरबुराउँदो बनाउनु पर्दछ । यसका जराहरु माटोको सतहमै फैलिने हुँदा माटोमा प्रशस्त चिस्यान रहनु पर्दछ र झारपात बढ्न दिनु हुँदैन ।

यसको लागि कालो रङको मल्चिङ प्लास्टिक प्रयोग गर्नुपर्छ । यसले चिस्यान पनि कायम रहन्छ, झारपात पनि पलाउन दिँदैन र फललाई कुहिनबाट पनि जोगाउँछ । यसको खेतीका लागि थोपा सिंचाइ गर्नु राम्रो हुन्छ । जसबाट घुलनशील मल पनि दिँदा राम्रो हुन्छ ।

स्ट्रबेरीको बिरुवा उत्पादन

देवकोटाका अनुसार यसको बिरुवा तयार गर्दा फल फलिसकेका रनर्सलाई प्रयोग गरिन्छ । एउटा स्वस्थ्य बिरुवाबाट १२\१८ वटासम्म रनर्स तयार गर्न सकिन्छ । माउबोटबाट निस्केका लहराहरु भुईंको सम्पर्कमा आउँदा गाँठोबाट जरा निस्कन्छन र नयाँ रनर्सको विकास हुने देवकोटा बताउँछन् ।

माघ–फागुनमा लगाइएको बिरुवा जेठ–असारमा रनर्सको रुपमा विकसित हुन्छन र तिनीहरुलाई नर्सरी ब्याडमा सारेर हुर्काएपछि भदौ–आश्विन बगैँचामा सार्नको लागि तयार हुन्छन् ।सम्बन्धित प्राविधिक ज्ञान भएको मानिसबाट यसको बिरुवा उत्पादन गर्नुपर्छ । फल उत्पादन गर्न प्रयोग गरिएको बिरुवालाई नै नयाँ बिरुवा उत्पादनमा प्रयोग गर्न सकिन्छ तर यस्तो गर्दा बिरुवाको उत्पादन क्षमता घ’ट्नुका साथै रोग किराको प्र’कोप बढ्छ ।

त्यसै गरी यसको जातीय गुणहरु पनि क्रमश क्षय हुँदै जान्छ । यसैले फल दिने बोटबाट नभएर तन्तु प्रजननबाट तयार गरिएका स्वस्थ माउ बोटलाई बिरुवा उत्पादन गर्ने अत्याधुनिक नर्सरीमा प्रसारण सम्बन्धी प्राविधिक ज्ञान भएको विज्ञबाट गर्नुपर्ने देवकोटाले बताए । नेपालमा स्ट्रबेरीको बिरुवा लगाउँदा तराईमा असोज र पहाडमा भदौमा लगाउनु पर्छ । तराई र पहाडमा छुट्टाछुट्टै जातको बिरुवा लगाउनु पर्छ ।-नारायणी अन्लाईन