‘ओली सच्चिए एकै ठाउँमा बस्न सकिन्छ, नत्र…’

March 17, 2021 152

काठमाडौ । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सच्चिए अझैपनि पार्टी एकढिक्का राख्न सकिने बताएकी छन् ।

बुधबार एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले राखेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टीमा अहिले अप्ठ्यारो स्थिति भएपनि कम्युनिस्ट आन्दोलनलाई अझै एकतावद्ध बनाएर लैजान सकिने बताइन् ।

उनले भेला गुटको नभई पार्टीको भएको भन्दै कम्युनिस्ट आन्दोलन बचेमात्र पद रहने बताइन् । केही कार्यकर्ता डराएको भन्ने सुनेको भन्दै पार्टीलाई स्पस्ट ढंगले अघि बढाउन भेला महत्त्वपूर्ण हुने बताइन् ।

उनले अध्यक्ष केपी ओलीलाई आग्रह गर्दै भनिन्, ‘तपाईं सच्चिनुस्, सच्चिन सक्नुभएन भने तपाईंको प्रधानमन्त्री पदको आयु हामीले तोक्नुपर्दैन ।’‘नैतिकता देखाउनुस्, काखा पाखा नगर्नुस्, सवैलाई समान व्यवहार गर्नुस् यसैमा तपाईंको कल्याण र हित हुनेछ ।

२८ गतेको निर्णय सच्याउनुभयो भने सम्भवत एकै ठाउँमा बस्न पनि सक्छौँ । हामी खुल्ला ढंगले एकीकृत गरेर नेपाल कम्युनिस्ट पार्टी बनाउन सक्छौँ’, शाक्यको भनाइ छ । उनले पार्टीलाई छिन्नभिन्न होइन एकढिक्का बनाउन जरुरी रहेको भन्दै त्यसका लागि सवै कार्यकर्ताहरु एकमत रहेको आफुले पाएको बताइन् ।