ओलीको कदमको विरोधमा रहेको माधव नेपाल पक्षले बोलायो भेला

March 13, 2021 131

प्रधानमन्त्री केपी शर्मा ओलीले मनोमानी ढंगले पार्टीमा जिम्मेवारी हेरफेर गरेपछि रुष्ट बनेको माधव नेपाल समूहले शनिबार केन्द्रीय समिति र सांसदहरुको भेला बोलाएको छ । भेलामा ओलीको कदमपछि कसरी अघि बढ्ने भन्नेबारेमा छलफल गरी निष्कर्षमा पुगिने नेताहरुले बताएका छन् ।

शुक्रबार बैठक राखेर ओलीले नवौं महाधिवेशनबाट चुनिएका अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारीहरूको पद खारेज खारेज गर्नुका साथै जिम्मेवारी हेरफेर गरेका थिए । यस्तै माओवादीमा नफर्किएका रामबहादुर थापा बादल, मणि थापा, टोपबहादुर रायमाझीलगायत नेताहरुलाई ओलीले केन्द्रीय कमिटीमा ल्याउनुका साथै जिम्मेवारी समेत दिएका छन् ।

ओलीको यो निर्णयपछि रुष्ट बनेको नेपाल समूहले चैत ४ गतेका लागि राष्ट्रिय भेला समेत बोलाइसकेको छ भने समानान्तर कमिटी बनाउने घोषणा पनि गरेको छ । ओलीले पार्टी फुटाउने उद्देश्यका साथ शुक्रबार कदम चालेको भन्दै नेपाल समूहले निर्णय विरुद्ध एकजुट हुन

कार्यकर्तालाई आह्वान समेत गरेको छ ।एमाले नेता भीम रावलले अध्यक्ष ओलीले पार्टीको विधान विपरित स्वेच्छाचारी र मनपरी किसिमले निर्णय गरेकाले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने कदमविरुद्ध सबैलाई एकताबद्ध गरेर पार्टीको रक्षाका लागि अग्रसर हुने बताए ।

ओलीबाट कम्युनिष्ट आन्दोलनलाई धरासायी पार्ने काम भएको नेपाल पक्षको बुझाइ छ । बाधा अड्काउ फुकाउने नाममा अध्यक्षले विधान विपरित काम गर्न नमिल्ने रावलको तर्क छ । ओलीको पछिल्लो निर्णय अलोकतान्त्रिक र कम्युनिष्ट एकता विरोधी भएको उनको टिप्पणी छ ।