सरकारी स्कुलमा चक्कर लगाउँदा…

March 10, 2021 127

निलो आकाश मुन्तिर पहाडका तरेलीहरूमाझ एउटा धुलाम्मे चउर। चउरका ठाउँठाउँमा समूह बनाई बसेका छात्रछात्रा। नयाँ गेट लगाउँदा उखेलिएर छेउमै लडेको झुत्रो गेट।स्पष्ट दीर्घकालीन सोचको अभावले पटक पटक गरी ठडिएका दस साना साना भवनका केरमेट भएका भित्ताहरू।

‘वेदर कोट’ त कल्पनै नगरौं, भित्ताहरूले चुनाको प्रतीक्षा गरेकै जुग बित्यो होला। अन्तिम पटक आफू पोतिएको भित्ताहरूले नै बिर्सिसके होलान्।कक्षाकोठा बाहिर घाममा दिनभरी धूलो, रातभरी शीत झेल्ने डेस्कबेन्चहरू। कतिपय विद्यार्थी डेस्कमाथि मज्जैले बसेका। कतै डेस्कले अड्याइएका, कतै पर्खालमै ठड्याइएका र कतै भुइँमै लडाइएका ‘ह्वाइट बोर्ड’।

शिक्षकका लागि प्लास्टिक कुर्सी। माथिल्लो कक्षाका विद्यार्थीहरू बेन्चमा बसिरहेका। तल्ला कक्षाका चिसो चउरमै। विद्यालय नै भेदभाव सिकाइरहे जस्तो।कोही जिज्ञासु। कोही उट्पट्याङ्। कोही गलल्ल हाँसिरहने। कोही औंलामा कापी नचाइरहने। कोही चुंगी खेल्दै।

कोही चटपटेको फाँक हाल्न वा चाउचाउ किन्न पसल दौडिरहने। ड्रेस कोड भए पनि करिब एक चौथाइले नलगाएका। कपाल रंग्याएका, ‘डाइ’ गरेका ‘फेसनेबल’ छात्रछात्राहरू।बहुउपयोग भएको छ त नवनिर्मित तारजालीयुक्त पर्खालको। पर्खालको आडमा शिक्षक र सहयोगी घाम ताप्छन्। पर्खालमै झुण्डिएको छ घण्टी। पर्खाल लगाउँदा बचेखुचेका ठूला ढुंगा, साना गिट्टी र मसिनो बालुवा जो जहाँ थियो, त्यहीँ असरल्ल छन्।

आडैमा एउटा बीस लिटरको पिउने पानी राखिएको सेतो ग्यालेन। पानी सार्न ग्यालेनमाथि रातो जग। चिसो मौसममा तातो पानीको प्रबन्ध मिलाइएको। घाममा सेकिँदै एक बट्टा स्यानिटाइजर। यस्तो स्यानिटाइजरले काम गर्छ? सोध्दा शिक्षकलाई सायद घाममा राख्न हुँदैन भनेर ध्यानाकर्षण भयो क्यार!

२०१३ सालमा स्थापित भई २०३३ सालमा माध्यमिक विद्यालयका रूपमा विकास भएको अछामकै पुरानोमध्येको एक, करिब एक हजार तीन सय विद्यार्थी भएको अछाम, मंगलसैनको षोडशादेवी मा.वि.। लकडाउनपछि खुलेको तेस्रो दिन, २०७७ मंसिर १७ गतेको दृश्य हो यो।

विद्यालयमा नियमित पढाइबाहेक १४ बालबालिका भएको बाल विकास केन्द्र छ, दृष्टिविहीनलाई शिक्षा छ, सिटिइभिटीको प्राविधिक शिक्षा पनि छ। ४० जना त कर्मचारी छन् विद्यालय धकेल्ने। तर पनि व्यवस्थापनमा धेरै कुरा नमिलेजस्तो।
आफ्ना छोराछोरीलाई यसै स्कुलमा पढाउने कर्मचारी खोजी गर्दा गणना सुरू हुन्छ।

फलानोऽऽऽऽ। फलानोऽऽऽऽ। फलानोको पनि हो क्यार! टेबलको रजिष्ट्रर पल्टाएर एकएक गरी हेर्दा ४० मध्ये १२ जना (३० प्रतिशत) का छोराछोरी पढ्ने गरेको भेटिन्छ। बाँकीका मंगलसैनदेखि काठमाडौंसम्मका बोर्डिङमा।’सरकारी विद्यालय, पर्याप्त संरचना छन्, व्यवस्थापनको लामो अनुभव पनि, राज्यको ठूलै लगानी।

त्यो लगानीले नपुगेर कैयौं दातृ निकायले पनि सहयोग गर्छन्। अहिले पनि दाताकै सहयोगमा विद्यालय ‘रेट्रोफिट’ भइरहेछ। बोर्डिङका शिक्षकभन्दा कैयौं गुणा बढी तलब छ। तर पनि किन सरकारी स्कुलमा पढाइदेखि सबै भद्रगोल?’
छेवैका शिक्षकलाई कसैले उनकै स्कुलमा गएर उनैलाई यसरी प्रश्न सोधेका थिएनन् सायद?

उत्तर आउन समय लाग्यो, भनौं उत्तरै फुरेन।बरू पर्तिरका अर्का शिक्षकले एकै सासमा भनी भ्याए, ‘सरकारी स्कुलमा निर्णय कसले गर्ने? प्रष्ट छैन। यता व्यवस्थापन समिति छ, उता नगरपालिका। शिक्षकहरू कोही कसैको मातहतमा छैनन्, अनुशासनहीनता छ। जिल्ला शिक्षा कार्यालय हुँदा अलि नियन्त्रण हुन्थ्यो, अब त्यो पनि रहेन।

अधिकारमुखी कुराले पनि बिगार्‍यो। केटाकेटीलाई पिट्नु त टाढाको कुरा हप्काउन मात्र खोजे पनि ठूलै ‘इस्यु’ बन्छ। घरमा बाबुआमाले जति कुटे पनि हुन्छ, कुट्छन्। त्यही विद्यार्थीलाई शिक्षकले दण्डित गर्दा बसी खान दिँदैनन्। राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्ड छैन। शिक्षा चरम राजनीतिले बिग्रियो।’

पहिलोवाला शिक्षकले अनि थपे, ‘सरकारी र निजी भन्ने कुराले बिगारेको छ। शिक्षक मात्र सचेत भएर हुँदो रहेनछ, अभिभावकले सचेत हुनुपर्ने। बोर्डिङमा बच्चा पढाउने अभिभावकले घरमा केटाकेटीले पढे-नपढेको हेर्छन्। तर सरकारीमा? स्कुल पठाइदियो, बाँकी विद्यालयकै जिम्मा ठानिन्छ।

हामी शिक्षक पनि नराम्ररी चुकेका छौं। अनुशासनको कमी छ। हाम्रो तालिम, हाम्रो सिकाइ प्रमाणपत्रका लागि भयो। एउटा डाक्टरले आफूले सिकेको कुरा प्र्याक्टिकल गर्छ र अनुभवी बन्दै जान्छ। हामी प्र्याक्टिकल गर्ने त सोच्दै सोच्दैनौं।’उसो भए दोषी?’हामी सबै।’ ‘जो जति ठूलो जिम्मेवारीमा, ऊ त्यति बढी दोषी।’

उनले भनेको ‘हामी’ भित्र उनी मात्र होइन सायद म पनि पर्छु। दोषारोपण जसलाई गरे पनि, औंलो जसतिर ठड्याए पनि विद्यालय त आखिर अभिभावक, विद्यालय प्रशासन र व्यवस्थापन समिति सबै मिलेर सुधार्ने हो।
मान्छे देख्दा भाग्ने विद्यार्थीःनगरपालिका त भन्नु मात्रै। सदरमुकामबाट कच्ची बाटो तीन घन्टा। न बिजुली छ, न नेटवर्कले काम गर्छ।

यता कर्णालीपारि सुर्खेत, उता डोटी। अछामका ९१ मध्ये भूगोलमा सबभन्दा ठूलो मंगलसैनको १३ नं. वडा, बस्ती। बस्ती पुग्नै सास्ती। बस्तीका तीनवटा बस्ती डाँडीगडे, बस्ती र बाँडा।हामी बस्तीको शिशुसुधार मा.वि. पुग्नु र विद्यालयको ‘ब्रेक टाइम’ हुनु संयोग पर्‍यो या जतिबेलै त्यस्तै हो? आकाशे निलो सर्ट र गाढा निलो पाइन्ट, स्कर्टवाला विद्यार्थी स्वाँ-स्वाँ गर्दै सडकमा उक्लिए। गाडी र हामी दुवैलाई ट्वाल्ल परेर नियाले।

केही सोध्दा जवाफ नदिई गुटुङटुङ दगुरे। कोही लजाएर, कोही सायद डरले।नौलो मान्छेसँग ‘फेस’ गर्न नसक्ने, बोल्न सितिमिति मन नमान्ने, टाउको हल्लाएरै हो, होइनको संकेत दिने आफ्नै बाल्यकालतिर फर्किएँ।वडाअध्यक्ष प्रेम बहादुर थापा लिन आइपुगे। करिब तीन सय विद्यार्थी भएको २०३२ सालमा स्थापित शिशुसुधार मा.वि. तिर लाग्यौं।

जिर्ण भवनले सोच्न बाध्य बनायो। त्यहाँ पढाउने शिक्षकका विद्यालयभन्दा कैयौं गुणा व्यवस्थित घर होलान्। तर त्यो विद्याको घरको हालत दयनीय छ। शिक्षकको घर विद्यालयभन्दा राम्रो हुनु हुन्न भन्ने होइन, तर सवाल विद्यालय भवनको निर्माण, संरक्षण, रेखदेख र त्यसप्रति अपनत्वको हो।

कक्षा ८-१० का छात्रछात्रालाई एकै ठाउँमा राख्दा ५२ जना भएछन्। अधिकांश थापा, ढुंगाना र बिक थरका। ‘बम्बई’ जाने र छोरालाई पढाउन सहर पठाउने प्रवृत्तिले छात्रभन्दा छात्रा बढी देखिएका।सिडिओ र डिएसपी मिलेर प्रश्नोत्तर र जिज्ञासा समाधान गर्न अन्तरक्रिया गर्‍यौं।

प्रहरीले के गर्छ? एक साथ जवाफ आयो ‘जनताको सेवा गर्छ। सुरक्षा गर्छ।’

अनि सिडिओले?

मुखामुख भयो, उत्तर आएन। एकछिनपछि ‘फस्ट बेन्चर’ गणेश थापाले भने, ‘शिक्षा सुधार गर्छ।’

यसअघि शिक्षा या नगरपालिकाका कर्मचारी गएर शिक्षा विकासको मात्र कुरा गरेकाले हुन सक्छ, तिनलाई लागेको कि सिडिओले पनि शिक्षा क्षेत्रकै सुधार गर्छ।

संयोग के भने सोही दिन सदरमुकामको एउटा विद्यालयका शिक्षकहरूले चरम लापरबाही गरेको उजुरी आएपछि हाजिरी पुस्तिका नियन्त्रणमा लिन निर्देशन गरेको थिएँ। त्यस अर्थमा शिक्षा क्षेत्रमा सुशासन कायम गर्न सिडिओको भूमिका नहुने नै भन्न पनि मिल्दैन।

विद्यार्थीलाई सामाजिक सञ्जाल जथाभावी नचलाउन, कुलत र लहलहैमा नलाग्न सचेत गरायौं। बाल विवाहको जानकारी गराउँदा सोधियो, ‘विवाह गर्ने उमेर कति हो?’

कक्षाकोठा गुञ्जियो, ‘बी ऽऽऽऽस’।

थाहा छ। तर तिनैमध्ये कति केही महिनाभित्रै बाल विवाह गरेरै जानेछन्। त्यसका बेफाइदाबारे सुसूचित गर्‍यौं।

घरेलु हिंसा के हो?छात्र भन्छन्, ‘श्रीमानले कुट्नु।’

छात्रा भन्छिन्, ‘झगडा गर्नु।’

को सँग?

‘श्रीमतीसँग।’

आखिर कुरो उही। पुरुषले महिलालाई कुटपिट वा दुर्व्यवहार गर्नु।

विद्यार्थीले गर्नुपर्ने मिहेनत, लगनशीलताबारे बतायौं। तिनलाई आइपर्ने सामाजिक, आर्थिक, पारिवारिकदेखि व्यक्तिगत समस्याबारे जानकारी गराई त्यसबाट अगाडि बढ्ने तरिका भन्यौं। उत्प्रेरणा भर्‍यौं।

नौलो कुरा, फरक कक्षाको अनुभूति भएर होला कक्षाभित्रका विद्यार्थीको चेहरामा अघिभन्दा तेज बढेको थियो। तेज बाहिर हावाको पनि बढेको थियो। सल्लेरी जोरले सुसाउँदै थियो। छाउगोठ भत्काउन गएको प्रहरी टोली फर्किएर भन्दै थिए ‘कतै छाउगोठ भेटिएनन्। पोहोर भत्काएपछि बनेका छैनन्।’

काम गर्नुपर्छ केही न केही नतिजा आउने रहेछ।

अब ती छाउगोठ नबनून् र यी कलिला केटाकेटीको जीवन पनि अपेक्षित बनोस्। कामना गर्दै बाहिर निस्किँदा हाम्रा गाडी वरिपरि केही बालबालिका झुम्मिएका थिए। दुइटा गाडीलाई ‘काउन्टर’ गर्न तिनका साथमा स्थानीय प्रविधिबाट निर्मित पार्टपूर्जा जडित एउटा पाङ्ग्रो र दुई हातले समात्ने ह्यान्डल भएका काठका ६-७ गाडी थिए।

न मोबिल चाहिने, न इन्जिन आयल। चालकले प्रशिक्षण पनि लिनुनपर्ने। न ध्वनि प्रदूषण, न वायु प्रदूषणको डर।हामीलाई देखेर बाल चालकहरू तर्किए। आ-आफ्नो गाडीको स्टेयरिङ फनक्क घुमाएर कुदे। फोटो खिच्न बोलाउन खोज्दा झन् पर भागे। मान्छे देख्दा भाग्ने ‘समाज’मा थियौं हामी। वडाअध्यक्ष फकाएर बोलाउन खोज्दै थिए, ‘ए आओ तिमीहरू। भत्ता दिन्या हुन्।’गाउँघरमा मानिसहरू भेला पार्ने उत्तम अस्त्र ‘भत्ता’ रहेछ। तर, उनीहरू आएनन्।