दसैंको टीका छाडेर आँसु खसाल्दै मुगलान लागे नेपाली !

रुकुमका ५३ वर्षीय गणेशकुमार पाण्डे बिहीबार भारी मन बनाउँदै रोजगारीका लागि भारतको सिमलातर्फ हिँडे । बाँकेको जमुनाह नाकामा भेटिएका उनी दसैँको टीका छाडेर बिदेसिनुपर्दा निराश देखिन्थे, अनुहार मलीन थियो ।

गाउँमा खान–लाउनै समस्या भएपछि मजदुरीका लागि भारत जान बाध्य भएको पाण्डेले बताए । ‘घरमा आइसकेको दसैँ छाडेर बिदेसिन कसको पो मन हुन्छ र रु’ उनले भने, ‘घरबाट हिँड्ने वेला जहान, केटाकेटी सबैले आँसु खसाले । म पनि मन थाम्न नसकेर खुबसँग रोएँ, तर के गर्नु, हामी गरिबसँग अरू विकल्प पनि त छैन ।’

पाण्डेसँगै जाजरकोटका प्रेमबहादुर कामी पनि भारत जानेहरूको लाइनमा थिए । अरू दसैँ मान्न घर आउने वेला आफू भारत हिँड्नुुपर्दा मन पोलेको उनले बताए । ‘दसैँमा घर बस्दा पनि खान–लाउन नपाइने भएपछि भारत जान नै उचित लाग्यो । दसैँमा अरूले खाएको देखेर मन रुवाउनुभन्दा टाढा बस्न नै राम्रो हुने र दुई–चार पैसा पनि कमाइने भएकाले जान लागेको हुँ,’ उनले भने

इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज सइ विष्णु गिरीका अनुसार दसैँ सुरु भइसकेपछि पनि भारत जानेहरूको संख्या घटेको छैन । दैनिक करिब तीन सय नेपाली कामका लागि भारततर्फ गइरहेको उनले बताए । ‘अघिल्ला वर्षहरूमा चाडबाडको वेला बिदेसिनेहरू हुँदैनथे । यस वर्षको दसैँमा भने काम गरेर फर्किने र कामको खोजीमा भारत जानेको संख्या लगभग उस्तउस्तै छ,’ उनले भने ।

भारत जाने अधिकांश नेपालीले घरमा खानेकुरा सकिएकाले कामका लागि बिदेसिन बाध्य भएको बताए । गाउँघरमा काम पनि नपाइने, भएको पैसा र अन्नपात सकिएपछि दसैँको मोह मारेर हिँडेको उनीहरूको भनाइ छ ।

भारतमा को,रोना महामा,रीले विकराल रूप लिएको थाहा भए पनि आफूहरूसँग विकल्प नभएको उनीहरूको दुखेसो छ । ‘मर्नुभन्दा बहुलाउनु बेस भन्छन् । खान नपाएर मर्नुभन्दा रोग लागेर मर्न उचित लाग्यो,’ नेपालगन्जमा भेटिएका रुकुमका २४ वर्षीय हेमेन्द्र कामीले भने । उनी पनि भारतको सिमलातर्फ लागेका छन् ।

दसैँको मुखमा घर छोडेर बिदेसिने नेपालीको मुहार मलीन र थकित देखिने गरेको सइ गिरीले बताए । ‘यसअघि कामका लागि भारत जाने नेपालीमा एकखालको आशा अनि खुसी झल्किन्थ्यो, तर यतिवेला भारत जानेको मुहारमा कुनै चमक देखिँदैन, नि’राशा मात्रै देखिन्छ,’ उनले भने । भारतबाट दैनिक करिब ६ सय नेपाली घर फर्किने गरेको उनले बताए ।

दसैँ छोडेर भारततिर

दसैँ सुरु भइसके पनि पश्चिमी नाका गड्डाचौकी हुँदै रोजगारीका लागि भारत जाने नेपालीको संख्या घटेको छैन । घटस्थापनायताका ६ दिनमा मात्रै करिब सात सय नेपाली भारतका विभिन्न सहरतर्फ लागेका छन् ।

१ कात्तिकदेखि दसैँ सुरु भइसकेको छ । गाउँमा नवरात्रको पूजाआजा तथा दसैँको तयारी थालिएको छ । तर, कोरोना महामारीका कारण लामो समयदेखि गाउँमा बेरोजगार बनेका युवा तथा तन्नेरीलाई दसैँको रौनकले रोक्न सकेको छैन, परिवार पाल्नै समस्या हुन थालेपछि उनीहरू भारत जान बाध्य भएका छन् ।

गाउँमा भोकै बस्नुपर्ने अवस्था आएपछि दसैँ छोडेर भारत जान लागेको बाजुराको खप्तसिडी गाउँपालिका– ५ का वीरसिंह खड्काले बताए । भारतमै काम गरिरहेका उनी को’रोना महामा’री बढ्दै गएपछि सात महिनाअघि घर आएका थिए ।

यो सात महिनामा गाउँमा कुनै काम नपाएको उनले बताए । ‘को’रोनाबाट ज्या’न बचाउन भारतबाट घर फर्केको थिएँ । कमाएर ल्याएको पैसा सकियो । गाउँमा बेरोजगारी छ । भोकै बस्नुभन्दा त उतै फर्किन लागेको छु,’ गड्डाचौकी नाकामा भेटिएका उनले भने, ‘दसैँ आए पनि हामीलाई उस्तै पीडा छ, खान–लाउनै गाह्रो हुन्छ ।’

आठ महिनाअघि भारतबाट फर्किएका बैतडी गोठालापानीका वीरेन्द्र महरा पनि बिहीबार फेरि भारततिर लागेका छन् । ‘घरमा नुन खानलाई पैसा छैन, दैनिक घरपरिवार चलाउन धौधौ भइरहेको छ,’ उनले भने, ‘दसैँ–तिहारका वेला कसलाई घरपरिवारसँगै बस्ने रहर हुँदैन र ? तर, भोको पेटमा कसरी दसैँ बनाउने ?’

सुदूरपश्चिमका पहाडी जिल्लाका मात्रै होइन, तराईका बासिन्दा पनि भारततिर लागिरहेका छन् । कञ्चनपुरको वेदकोट नगरपालिका– १ दैजीका उद्धवराज भट्टले दसैँको मुखमा भारत जान बाध्य भएको बताए । भारतमै रोजगारी गरिरहेका उनी ६ महिनाअघि घर फर्केका थिए । ‘उतिवेला ज्यान जोगाउन रोजगारी छाडेर घर आएँ, घरमा महामारीभन्दा बेरोजगारीले सतायो । त्यही भएर फेरि उतै जाँदै छु,’ उनले भने ।

विगतका वर्षहरूमा दसैँका वेला सीमानाकामा घर फर्किनेको लर्को हुन्थ्यो, यस वर्ष भने जानेहरूको पनि उस्तै लस्कर छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार कात्तिकको पहिलो साता गड्डाचौकी नाका भएर ६ सय ८१ जना भारततर्फ लागेका छन् । यो अवधिमा एक हजार दुई सय ८९ नेपाली स्वदेश फर्केका छन्।

दसैंले पनि रोक्न सकेन

दसैंको टीका आउन तीन दिन मात्र बाँकी छ, तर रोजगारीका लागि नेपाली भारत जाने क्रम रोकिएको छैन । गरिबीका कारण पिरोलिएकाहरू दसैं मनाउन छोडेरै कामका लागि भारत गइरहेका छन् ।

घ’टस्थापनादेखि बिहीबारसम्म कैलालीको त्रिनगर नाका भएर नेपाली र भारतीय गरी एक हजार ६ सय भारत गएका छन् । सीमामा भारत जानेहरूको तथ्यांक संकलन गरिरहेका सुरक्षाकर्मीका अनुसार तीमध्ये आधाजति कामका लागि भारत जाने नेपाली हुन् ।

घ’टस्थापना सुरु भएदेखि कामका लागि भारत जाने नेपालीको संख्या पहिलेको तुलनामा कम देखिए पनि रोकिएको भने छैन । कोरोनाका कारण स्वदेश फर्केका कतिपय काम गर्ने ठाउँबाट तत्काल फर्कनु भन्ने खबर पाएपछि दसैं छाडेर फर्कन थालेका हुन् । नफर्किए रोजगारी गुम्ने डर भएकाले जानुपरेको उनीहरू बताउँछन् ।

कैलाली घोडाघोडी नगरपालिका सुखडका सुमन चौधरी त्रिनगर भन्सार नाकाबाट बिहीबार दिउँसो भारत जान हतारिँदै थिए । गाउँमा सबै दसैं मनाउन घर फर्कदै छन्, तर परिवार छोडेर भारत जानुपर्दाको बाध्यता उनको मलीन मुहारमा देखिन्थ्यो ।

‘गाउँघरमा दसैंको उमंग छ । पाँच वर्षको छोरा, श्रीमती र आमा छोडेर आउने मन थिएन, परिवारसँगै दसैँ मनाउने रहर पनि थियो,’ सुमनले भने, ‘तर, काम गर्ने ठाउँबाट दसैँअघि जसरी पनि पुग्नु भन्ने खबर आयो । नजाउँ भने गर्दै आएको रोजगारी गुम्ला भन्ने डर । त्यसैले टीका लाउन नपाई फर्कँदै छु ।’ भारतको उडिसामा एक घरमा पाँच वर्षदेखि काम गर्दै आएका उनी लकडाउनका वेला स्वदेश फर्केका थिए ।

त्रिनगर नाकामै भेटिए बझाङ बित्थडचिर गाउँपालिका सुनकुडाका राम रावल । श्रीमती, पाँच र आठ वर्षका दुई छोरा लिएर भारतको दिल्ली जाँदै गरेका उनले दसैँ छोडेर अर्काको देश जानुपर्दा नरमाइलो लागेको सुनाए । तत्काल काममा फर्कनुपर्ने भएपछि बिरामी छोराको उपचारका लागि श्रीमतीलाई पनि साथमै लग्न लागेको उनले बताए ।

‘साहुले बोलाएको–बोलायै ग¥र्‍यो । नआउने भए अर्को मान्छे राख्छु भन्न थाल्यो,’ रावलले भने, ‘त्यही जागिरका भरमा घरपरिवार पाल्नु छ । दसैँ मनाउनका लागि काम छोड्न पनि सकिएन ।’ दिल्लीको एक होटेलमा आठ वर्षदेखि कुकको काम गर्दै आएका उनी को’रोनाका कारण घर फर्केका थिए ।

देशमै काम पाए चाडबाड छोडेर बिदेसिने रहर कसैलाई नहुने रावलले बताए । ‘तीन दिनपछि दसैँ छ । आमा–बुबाको हातको टीका लाउने, परिवारसँग गाउँघरमै दसँै मनाउने रहर हामीलाई थिएन र रु’ उनले भने, ‘आफ्नो देशमा काम नपाउँदा चाडपर्व छोडेर महामारीका वेला अर्काको देश जानुपरिरहेको छ ।’

भारतमा कोरोना संक्रमण फैलिएपछि त्रासले त्यहाँ काम गर्दै आएका हजारौँ नेपाली लकडाउनबीच स्वदेश फर्किएका थिए । सुदूरपश्चिममा मात्रै भारतबाट करिब साढे दुई लाख भित्रिएका थिए । तर, घरमा लामो समय बेरोजगार बस्दा गुजारा चलाउन समस्या भएपछि दसैँ छोडेर फेरि भारततिर लागिरहेका छन् ।

दसैँमा सुनसान बेलहिया नाका

दसैँ र तिहार मात्र होइन, अन्य चाडपर्वमा घर फर्किनेको भिडभाड हुने रुपन्देहीको बेलहिया सीमानाका यतिवेला भने सुनसान छ । दसैँका लागि घर फर्किने न्यून हुँदा सीमानाका सुनसान बनेको हो ।

लुम्बिनी प्रदेशका अधिकांश जिल्लाका सर्वसाधारण यही नाका भएर आवतजावत गर्छन् । गण्डकी प्रदेशका केही जिल्लाका बासिन्दाको पनि भारत प्रवेश गर्ने नाका यही हो । तर, यसपटक भने यो नाका सुनसान रहेको बेलहिया इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर ईश्वरी अधिकारी बताउँछन् । ‘विगतको तुलनामा दसैँका लागि घर फर्किनेको संख्या न्यून देखिएको छ,’ इन्स्पेक्टर अधिकारीले भने । दैनिक तीन–चार सय जना मात्रै आइरहेको उनले बताए ।

को’रोना संक्र’मणको जोbखिम कायमै रहेकाले स्वदेश फर्किनेको संख्या एकदम कम रहेको यातायात व्यवसायी सूर्यकुमार सारुमगरले बताए । सप्तमीदेखि गाडीको क्यु फ्री हुने भए पनि यसपटक भने दुई गाडी पनि नभरिने गरेको उनले बताए । त्यस्तै, लकडाउनका समयमा धेरै नेपाली फर्किसकेकाले पनि अहिले आउनेको संख्या कम भएको उनको भनाइ छ ।

दसै मान्न खाली हात घर फर्किंदै

प्युठानका जीवन नेवार ११ वर्षदेखि भारतको केरलामा ठूला–ठूला घर बनाउने काम गर्दै आएका छन् । उनी सधैँ दसैँमा पैसा बोकेर घर फर्किन्थे । तर, यसपटक कोरोना संक्रमणले गर्दा बल्लतल्ल ज्यान मात्रै जोगाएर स्वदेश फर्किएका छन् ।

पूर्वी नाका काँकडभिट्टा हुँदै स्वदेश फर्किएका जीवनले महामारी सुरु भएयता काम नपाएको बताए । खुट्टा सुन्निने रोगबाट पीडित उनले भने, ‘दसैँ पनि आयो, घर पनि जान्छु । उतै उपचार गर्छु भनेर फर्किएँ । यसपटक पैसा भएन, यहाँसम्म पुग्न पनि साथीभाइले सहयोग गरे ।’

झापा अर्जुनधाराका लालबहादुर दर्जी भारतको सिक्किमस्थित एक होटेलमा सेफको काम गर्थे । उनले कमाएको पैसाले परिवारमा खान पुगेकै थियो । तर, कोरोना महामारीसँगै उनको जागिर गुम्यो ।

सात महिना काम खुल्छ कि भन्दै पर्खेरै बसेको उनले बताए । तर, होटेल खुलेन । बेखर्ची बनेका लालबहादुरले घर फर्कनकै लागि मजदुरी गरे । तीन हजार कमाएर घर फर्किएको उनले बताए । काँकडभिट्टा नाकामा भेटिएका उनले भने, ‘अब गोजीमा तीन सय छ । यतिले त घर पुग्छु होला नि ’

त्यस्तै, झापाको हल्दिबारी–३ की शोभा राई केरलामा डेढ वर्षदेखि कृषि फर्ममा काम गर्थिन् । कोरोना महामारीसँगै फर्मले पैसा नै दिन छाड्यो । केही महिनाअघि नै स्वदेश फर्कन चाहेकी उनी घर फर्कनेसमेत पैसा नभएकाले आउन सकिनन् । अझै केही महिनाको तलब लिनै बाँकी छ ।

‘केरलामा आफन्त छन् । पैसा दिएपछि पठाउँछु भनेका छन् । त्यही आसमा बल्लतल्ल आफ्नै घर आइपुगेँ,’ काँकडभिट्टास्थित होल्डिङ सेन्टरमा भेटिएकी उनले भनिन्, ‘कोरोनाले भारतमा धेरै दुःख पाइयो । धन्न बाँचेरचाहिँ आफ्नै देश आउन पाएँ ।’ उनीहरूजस्तै स्वदेश फर्केका अधिकांश नेपाली रित्तो हात आएका छन् ।

काँकडभिट्टा भएर फाट्टफुट्ट मात्रै भारत गइरहेका छन् । भारतीय नागरिक, विद्यार्थी तथा अस्पताल जाने मात्र गइरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । भारतबाट आउने पनि कम मात्रै मजदुर छन् ।

यो नाकामा अन्य नाकाजस्तो काम गरेर फर्कनहरू नरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख सइ राजेन्द्र पोखरेलले बताए । ‘दैनिक दुई सयको हाराहारीमा आवतजावत भइरहेको छ,’ सइ पोखरेलले भने, ‘तर, मजदुरचाहिँ अरू नाकामा जस्तो छैनन् । कमै मात्र छन् ।’ नयाँ पत्रिका दैनिकबाट

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।