कोरोनाले सिकाएको पाठ : घर फर्किका युवा बाँझो जमिन जोत्दै…हेर्नुहोस् ।

दीपकराज भट्ट : ३५ लाख व्यक्तिगत लगानीमा डडेल्धुरा (गन्यापधुरा) का युवाहरूले कृषि कार्यको सुरुवात गरेका छन् । डडेल्धुरा गाउँपालिका–४ रमाइलमा परि भट्टको दुई सय रोपनी जमिन छ । त्यो जमिन ५० वर्षदेखि खेतीपाती नगरेर बाँझिएको (झाडीमा परिणत) थियो ।

कोरोना महामारीले विदेशमा र स्वदेशमै आफ्नो गाउँबाट टाढा रहेकाहरूलाई गाउँमा जान बाध्य बनायो । त्यसरी गाउँ फर्कनेमा भट्ट परिवारका युवा पनि परे । गाउँ फर्किएका उनीहरूलाई कोरोनाले जन्मथलो मात्र फर्काएन गाउँमै केही गर्नुपर्छ भन्ने पाठसमेत सिकायो ।

वर्षांै बाँझो रहेको पाखो जमिन खनेर उद्यममा बदल्न उनीहरूलाई प्रेरित ग¥यो । भट्टको परिवारका १० जना मिलेर उक्त जग्गामा व्यावसायिक खेती सुरु गरेका छन् । तीमध्ये देवराज भट्ट भारतको बरेलीमा स्टार तहको होटलमा कुक हुनुहुन्थ्यो । सोही परिवारका जयराज पनि १० वर्षदेखि भारत मुम्बईको एक होटलमा काम गर्नुहुन्थ्यो ।

कोभिडका कारण घर आएका उनीहरू अब भारत नफर्किने अठोटमा पुगेका छन् ।‘पहिले बाजेको पालामा यो ठाउँमा मकै, तम्बाकु लगाउने गरिन्थ्यो तर बुबाका पालामा त्यो जमिन पूरै बाँझो भयो । अहिले हामीले त्यस जमिनमा फेरि भविष्य खोजेका छौं’, देवराजले भन्नुभयो ।’ यो जमिनमा अहिले पहिलो लटमा उनीहरूले आलु र लसुन लगाइसकेका छन् ।

यो कृषि फार्ममा गन्यापधुरा–४ का वडाअध्यक्ष चेतराज भट्ट पनि साझेदार बन्नुभएको छ । अर्का साझेदार जयराज भट्टले भन्नुभयो, ‘बाहिर देश भएकाहरू त फर्केनन् । हामी भारत र नेपालमा कोरोनाका कारण प्रभावित भएकाहरूले कृषि र पशुपालनमै सम्भावना देख्यौं । त्यसमै लागेका हौं ।’ यस ठाउँमा घंगारु, सल्ला र अन्य काँडाको झाडी भइसकेको थियो ।

त्यसमा झण्डै सय जनाले २२ दिनभन्दा बढी फाड्ने, खन्ने र घेराबारको काम गरेका छन् । २२ दिनको मजदुरी पाउने गरी गाउँका मान्छेले काम पाएका छन् । उचाइमा भएकाले कृषि पर्यटनको पनि सम्भावना देख्यौं । त्यही भएर १० भाइ छोराले कृषि फार्म सुरु गरेका हौं’ । देवराजले भन्नुभयो ।

यसका लागि उनीहरू १० जनाका नाममा शिखर तरकारी तथा पशुपक्षी बहुउद्देश्यीय कृषि फार्म दर्ता गराएका छन् । त्यसमा परिवारका दुई महिला पनि सदस्य छन् । फार्ममा उनीहरूले ३५ लाख लगानी गरिसकेका छन् । ‘गन्यापधुरा गाउँपालिकाले ५० प्रतिशत अनुदानमा आलुको बिउ दिएको छ’, वडाध्यक्ष भट्टले भन्नुभयो, ‘५० क्विन्टल आलु लगाइसकेका छौं, उम्रिन थालेको छ ।’

उनीहरूलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ५० प्रतिशत अनुदानमा कृषि उपकरण दिने प्रतिबद्धता जनाएको छ । बल्लतल्ल हाते ट्याक्टर पुगाएका छौं’, फार्मका साझेदार धर्मराज भट्टले भन्नुभयो । धर्मराज भैरहवाको टप टाइइगर क्यासिनोमा काम गर्दै आउनुभएको थियो ।

भैरहवाको क्यासिनोमा राम्रै आम्दानी गरिरहेका उहाँ जेठमा मात्रै घर फर्किनुभएको हो । उहाँ भन्नुहुन्छ, ‘बाहिरको नोकरीको भरोसा छैन, अब आफ्नै गाउँ–ठाउँमा स्वरोजगार गर्नुपर्छ भन्ने लागेको छ ।’ उनीहरूले, पाखो जमिन खनेर लसुन पनि लगाएका छन् । अहिले बजारमा लसुन किलोको दुई सयदेखि तीन सय रुपैयाँ पर्छ ।

प्याजको पनि अहिले किलोको १५० छ । ‘लसुन र प्याजमा हामी शतप्रतिशत परनिर्भर छौं । त्यसैले पहिलो चरणमा लसुन लगाएका छौँ । त्यसपछि प्याजमा पनि लगानी गर्ने चाहना छ’, फार्मका अर्का साझेदार हरिलाल भट्टले भन्नुभयो । त्यही कृषि फार्ममा, भारतको पञ्जावको एक कम्पनीमा कार्यरत ईश्वर देव भट्ट पनि बाँझो जमिनमा फरुवा चलाइरहनुभएको छ ।

अहिले यो जमिनमा ५० क्विन्टल आलु र पाँच क्विन्टल लसुन लगाइसकेका उनीहरू भैंसी पालनका लागि पनि हौसिएका छन् । ‘२० वटा भैंसीका लागि गोठ र बाख्रापालन गरेर मासु पनि उत्पादन गर्ने योजना छ’, भारतको पञ्जावबाट फर्कनुभएका खेमराज भट्टले भन्नुभयो । उहाँ पनि यस फार्मका साझेदार हुनुहुन्छ ।गन्यापधुराका भट्ट बन्धुहरूजस्तै गाउँमा सयौं युवा कोरोनाका कारण घर फर्केका छन् ।

लकडाउनका बेला मात्रै, डडेल्धुरामा करिब पाँच हजार युवा भारतबाट घर फर्किएका छन् । उनीहरू सबै रोजगार गुमाएर फर्किएका हुन् । विदेशमा चर्को घाममा आफ्नो श्रम बेच्नु भन्दा गाउँमै पसिना बगाई स्वरोजगार पनि भइने र घर परिवारसँग बसेर आय आर्जनमा लागे राम्रो हुने र यस्ता युवाहरूलाई गाउँपालिकाले सक्दो सहयोग गर्ने गन्यापधुरा गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बताउनुभयो ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।